लिबाङ रोल्पा
सम्पर्क फोन:
+977-9847877672

युट्युव आतंकले पत्रकारिता बदनाम

दुर्गालाल केसी

अहिले अधिकांश मानिसहरुले मिडिया अपडेटका नाममा धेरैजसो समय युट्युवमा बिताइरहेका छन् । युट्युवमा आउने घरझगडा, प्रेम, धोका, हत्या, यातना, सम्बन्ध बिच्छेद, यौन सम्बन्ध जस्ता घटनामा मानिसहरु भुलिरहेका छन् । माइक्रोफोन, बुम र क्यामेराका कारण सबै दर्शकहरुले युट्युबरलाई पत्रकार ठानिरहेका छन् र सबै पत्रकारलाई त्यही दर्जामा हेरिरहेका छन् । अनि भनिरहेका छन्– पत्रकारहरुले जे पायो त्यही खिचेर देखाउने ? यस्ता पनि पत्रकार ?

अहिले सोसल मिडिया अर्थात सामाजिक सञ्जाल न्यू मिडियाका रुपमा विकास भएको छ । सामाजिक सञ्जालबाट पनि सूचना पाउन सकिन्छ । सूचना पाउनका लागि मूलधारका मिडिया मात्रै खोज्ने परिपाटीको अन्त्य भएको छ । नागरिकको सूचनाको स्रोत सामाजिक सञ्जाल भएकोमा कुनै पनि शंका छैन तर मूलधारको पत्रकारिता र युट्युवकारितामा फरक छुट्याउन नसक्दा पत्रकारहरुले गाली खानु परेको छ । पत्रकारिता पेशाको इज्जत खस्केको छ । कतै पत्रकार हुँ भनेर परिचय दिन पनि अप्ठेरो मान्नुपर्ने अबस्था आएको छ ।

नागरिकमा मिडिया साक्षरता कम छ । सही सूचनाका लागि कुन मिडिया प्रयोग गर्ने भन्नेबारे सचेतना छैन । सामाजिक सञ्जालमा जे जस्ता जानकारी भेटिन्छन् त्यहीलाई आधार मान्ने प्रवृती बढेको छ । क्यामेरा बोक्ने सबै मानिस पत्रकार हुन् भन्ने भ्रम समाजमा छ । क्यामेरा बोकेका आधारमा, मानिसहरुसँग कुरा गरेका आधारमा, भिडियो खिचेका आधारमा पत्रकार भईदैन । पत्रकार हुने छुट्टै विधि, प्रक्रिया र मूल्य मान्यता छ तर युट्युव चलाउने मानिस पनि समाजका लागि ठूलो पत्रकार बनेको छ । खास पत्रकारिता गर्ने मान्छे ओझेलमा परिरहेको छ । अरुले गरेको गल्तीको दोष मात्रै बोकेर बसेको छ । गाली खाएर बसेको छ ।

मिडियाको आधिकारिकता र बिश्वसनीयता केलाउन नसक्दा नागरिक सही सूचनाबाट टाढिएका छन् । गलत र भ्रामक समाचारको पछि लागेका छन् । पत्रकारिता र युट्युव या सामाजिक सञ्जालमा धेरै नै भिन्नता छ भन्ने कुरा आम नागारिकले बुझ्न जरुरी छ । अहिले इन्टरनेटको सहज पहुँचले हरेक नागरिकले सूचना सम्प्रेषण गर्न त सक्छन् । कतै कुनै घटना भैहाल्यो भने त्यसको फोटो या भिडियो खिचेर जसले पनि राख्न सक्छ । यसबाट पनि नागरिकले सूचना त पाउँछन् । अर्थात सामाजिक सञ्जालबाट पनि आम सञ्चारका अन्य माध्यमबाट जस्तै सूचना त पाइन्छ । त्यसकारण यसलाई सिटिजन जर्नालिजम् अर्थात नागरिक पत्रकारिता भन्न थालिएको छ ।

हरेक नागरिकले पत्रकारले जस्तै सूचना प्रवाह गर्ने काम गर्न सक्छन् भने यसलाई नागरिक पत्रकारिता भन्न सकिन्छ । अर्थात नागरिकले सामाजिक सञ्जालमार्फत सूचना सम्प्रेषण गर्नसक्ने भएकाले यसलाई सूचना सम्प्रेषणमा नागरिक सहभागिताका रुपमा बुझिन्छ । फेसबुक, ट्विटर र युट्युव जस्ता सामाजिक सञ्जालले सूचना सम्प्रेषण गरे पनि यी पत्रकारिता होइनन् भन्ने कुरा बुझ्न आबश्यक छ । सूचना दिनु मात्रै पत्रकारिता होइन । पत्रकारिता हुनका लागि तोकिएका मापदण्ड पालना गर्नुपर्छ । जे मन लाग्यो त्यही सामग्री दिन पाईदैन । मनलाग्दी गरेमा कार्वाही हुन्छ तर युट्युवकारिता गर्दा कसैले केही कार्वाही गर्दैन । त्यो कुनै सामाजिक दायित्वको काम अन्तर्गत परेन । कसैलाई रहर लागेका आधारमा मन लागेको बेला कुनै सूचना दिने माध्यम भयो ।

पत्रकारिता हुनका लागि नियमित सूचना सम्प्रेषणको काम गर्नुपर्छ तर सामाजिक सञ्जाल नियमित हुँदैनन् । रेडियो, टेलिभिजनमा यती बजे समाचार आउँछ भनेर पर्खेर बस्न सकिन्छ तर सामाजिक सञ्जालमा हामीले चाहेको बेला समाचार आउँदैन । पत्रिका पनि नियमित आफ्नो समय अनुसार प्रकाशित हुन्छन् । अनलाइनमा पनि नियमित समाचार अपडेट गरिन्छ तर सामाजिक सञ्जालमा कहिलेकाही मात्र सूचना सामग्री पोष्ट हुन सक्छ । दिनदिनै सूचना सम्प्रेषण गर्नैपर्ने दायित्व पत्रकारमा मात्र हुन्छ । त्यो पनि कुनै एक घटना होइन की देश, विदेशका सबै महत्वपूर्ण घटनाहरु अद्यावधिक गरिरहनुपर्छ तर युट्युवरले कुनै एक घटनालाई मात्रै खिचेर देखाइदिए पुग्छ । देशभरका घटना जानिरहनुपर्दैन ।

पत्रकारिता निश्चित नीति, नियम, आचारसंहिता र सिद्धान्तका आधारमा चल्छ । पत्रकारिताको धर्म र परम्पराका आधारमा पत्रकारिता चल्छ । समाचार सम्पादनपछि मात्र सार्वजनिक गरिन्छ । सञ्चार माध्यममा तालिम प्राप्त पत्रकारहरु हुन्छन् । उनीहरुले पत्रकारिताको मूल्य मान्यता अनुसार मात्रै कुनै पनि सामग्री सम्प्रेषण गर्छन् । समाचार लेख्ने आफ्नै शैली छ, समाचारको भाषा छ, समाचारको छुट्टै संरचना छ । समाचारका आधारभूत तत्वहरुको खोजी गरिन्छ । यसलाई आधार मानेर मात्र पत्रकारिता हुन्छ ।
सञ्चार माध्यम राज्यको नीति नियम अनुसार दर्ता भई आबश्यक योग्यताका सम्पादक र सञ्चालक तोकी आधिकारिकरुपमा सञ्चालित हुन्छ । तर सामाजिक सञ्जालमा पत्रकारितामा हुनुपर्ने यी कामहरु हुँदैनन् । न सामाजिक सञ्जाल कतै दर्ता गर्नुपर्छ, न यो राज्यको कुनै नियमबाट निर्देशित छ । पत्रकारिताको त छुट्टै ऐन, कानून छ । त्यसका आधारमा काम भैरहेको हुन्छ । कानून विपरित काम गरे कार्वाही हुन्छ । सामाजिक सञ्जाल एकछिनमा जसले पनि शुरु गर्न सक्छ । जो पनि सजिलै युट्युवर हुन सक्छ । उसलाई नियमन गर्ने कुनै निकाय छैन ।

अर्को महत्वपूर्ण कुरा सामाजिक सञ्जालमा आउने सामग्री आम पाठकको जिज्ञासा मेट्नेखालको पत्रकारिताको मर्म अनुसार हुँदैन । आधिकारिक मिडियामा आउने समाचार पत्रकारिताको नियम र ढाँचामा लेखिएको हुन्छ । पाठकको जिज्ञासा मेटाउने गरी समाचारको मूल्य अनुसार मिडियामा स्थान दिइन्छ । खोज अनुसन्धान गरी समाचार तयार पारिएको हुन्छ । समाचारको महत्व र दिर्घकालिन असर ख्याल गरेर मात्र सञ्चार माध्यममा समाचार दिइन्छ । सामाजिक महत्व नराख्ने व्यक्तीगत र निजी मामिलाका कुराहरु पत्रकारिताले दिंदैन । सार्वजनिक महत्वका बिषयलाई मात्रै पत्रकारिताले समाचारका रुपमा दिन्छ । त्यो पनि प्रक्रिया र बिधि पु¥याएर सन्तुलित तरिकाले सामग्री दिइन्छ ।
युट्युव जस्ता सामाजिक सञ्जालमा भने पत्रकारितामा जस्तो कुनै पनि प्रक्रिया अपनाइदैन । सार्वजनिक महत्व नराख्ने व्यक्तिगत गतिबिधि समेत दिइन्छ । सामग्रीहरु पत्रकारिताको ढाँचामा हुँदैनन् । जस्तो उनीहरुले दिन्छन्, दर्शकहरुले त्यसैमा चित्त बुझाउनुपर्ने हुन्छ । युट्युवको सामग्री कुनै तालिम प्राप्त या अनुभवी सम्पादकद्वारा सम्पादन गरिदैन । जसले खिच्यो, उसैले सनसनीपूर्ण शिर्षक राखेर पोष्ट गरिदिन्छ । तथ्य जाँच, परिक्षण पनि हुँदैन । एउटाले खिच्छ, उसैले आफूलाई मन लागेका आधारमा सामग्री पोष्ट गर्छ ।

अर्को महत्वपूर्ण कुरा कोही पनि मानिसले पत्रकार बन्छु, मिडियामा काम गर्छु भन्दैमा तत्कालै पत्रकार भइहाल्दैन । त्यसका लागि पत्रकारिता सम्बन्धी तालिम लिएर समाचार लेख्ने सिप विकास गरी सञ्चार माध्यमले पत्याएपछि मात्र सञ्चार माध्यममा काम गर्न पाउँछ । काम गर्ने क्रममा पनि सम्पादकको निगरानी, निर्देशन र मार्गदर्शनमा मात्र काम गर्ने भएकाले उसको काम गलत बाटोमा जान पाउँदैन । पत्रकारिताको मर्म अनुसार चल्नसक्ने मानिस मात्रै पत्रकार हुनसक्छ ।

युट्युव चलाउन चाहन्छु भन्ने हो भने जसले जतिबेला पनि यो काम शुरु गर्न सक्छ । भिडियो खिचेर पोष्ट गरे पुग्यो । यसमा कुनै प्रक्रिया र निति नियम चाहिदैन । यसमा कुनै नियम र सिद्धान्तमा बाँधिनु पर्दैन । अर्थात जो पनि मानिस जतिबेला पनि युट्युबर हुन सक्छ तर पत्रकार जो पनि जतिबेला पनि पत्रकार हुन सक्दैन । यसका लागि लामो प्रक्रिया पार गर्नुपर्छ ।

युट्युवमा आउने सामग्रीमा कुनै आधिकारिक व्यक्तीबाट सम्पादन नहुने भएकाले दिन नमिल्ने विवरणहरु पनि पोष्ट भैरहेको हुन्छ । त्यसको सामाजिक असर, प्रभावका बिषयमा कुनै ख्याल गरिदैन । सामग्रीको मर्म र महत्वमा पनि ध्यान दिईदैन । युट्युवरहरु बलात्कृत महिलासँग कुरा गरेर भिडियो हालिरहेका हुन्छन् । पत्रकारिताको धर्मले बलात्कृतलाई सार्वजनिकरुपमा पहिचान हुने गरी प्रस्तुत गर्न दिदैन ।

कुनै पनि मूलधारको मिडियाले समाचार बन्नेस्तरका सेलिब्रिटी वाहेक अन्य कसको मायाप्रेम बस्यो, घरबार बिग्रियो भन्दै लेख्दैन तर युट्युवमा कोही सामान्य मानिसहरुका घरबार भत्केका कुराहरु पनि महत्वका साथ प्रशारण भैरहेका हुन्छन् । त्यसले घटनाका पात्र र समाजमा पर्नसक्ने क्षती र प्रभावका बिषयमा केही पनि ख्याल गरिदैन ।
अहिले मूलधारका मिडिया पनि फेसबुक, ट्विटर, युट्युव जस्ता सामाजिक सञ्जालमा जोडिएका छन् । आफ्ना सामग्री यी माध्यमबाट पनि शेयर गरिरहेका हुन्छन् । केही व्यवसायीक पत्रकारले राम्रा कार्यक्रम उत्पादन गरेर पनि युट्युवमार्फत सार्वजनिक गरिरहेका हुन्छन् । कतिपय ज्ञानबद्र्धक सामग्रीहरु पनि पोष्ट भैरहेका हुन्छन् । कतिपयले यसलाई आधार मानेर ती पत्रकार या मिडियाले पनि त युट्युव चलाइरहेका छन् भन्ने प्रश्न गरिरहेका हुन्छन् । त्यसकारण युट्युवमा सामग्री आउनेबित्तिकै त्यो गलत भन्ने पनि होइन । त्यो पत्रकारिताको सिद्धान्त अनुसार छ की छैन, तालिम प्राप्त व्यवसायिक पत्रकारले उत्पादन गरेको सामग्री हो की होइन, त्यसमा पत्रकारिताको मूल्य मान्यता कत्तिको अपनाइएको छ, सम्पादकको व्यवस्था छ की छैन भन्ने कुरा महत्वपूर्ण हुन्छ ।

पाठक, दर्शक, स्रोताहरुमा कुन मिडिया भरपर्दो छ भन्ने मिडिया ज्ञान हुन जरुरी छ । अर्थात मिडिया साक्षरता हुन आबश्यक छ । कुन स्तरका मिडियाहरु हेर्ने र कस्तालाई पत्याउने भन्ने जानकारी नागरिकमा हुनुपर्छ । मिडियाबारे सही मूल्यांकन गर्न सक्नु मिडिया साक्षरता हो । मिडिया साक्षरताको अभावले अधिकांश मानिसहरु सामाजिक सञ्जालको पछि दौडन बाध्य छन् । मिडिया छानेर प्रयोग गर्नसक्ने ज्ञाण आम नागरिकमा नहुँदासम्म गलत सन्देशको पछि दौडने, हल्ला र समाचारबीच फरक छुट्याउन नसक्ने समस्या हुन्छ ।

युट्युवमा भ्युअर अर्थात दर्शकको संख्या बढाउने र त्यसवापत पैंसा पाउने लोभमा जथाभावी सनसनीपूर्ण शिर्षक बनाएर सामग्री पोष्ट गर्ने प्रवृत्ती बढेको छ । कतिपय पूर्णकालिन युट्युवर छन् जो युट्युव सामग्रीकै लागि देशभर दौडन्छन् । महंगा गाडी चढ्छन्, महिनामा लाखौं कमाउँछन् । उनीहरुको जीवनस्तरमा नै युट्युवकै कारण ठूलो परिवर्तन आएको छ । त्यसकारण युट्युवप्रति मानिसहरुको आकर्षण बढ्दो छ । ठूलाठूला क्यामेरा बोकेर उनीहरु बिभिन्न ठाउँमा दौडिरहेका हुन्छन् ।

कतिपय सार्वजनिक कार्यक्रमहरुमा समेत व्यवसायीक पत्रकारभन्दा युट्युवर नै अघि पुगेका हुन्छन् । पत्रकारका साना क्यामेरका अगाडि उनीहरुका ठूला क्यामेरा हावी भैरहेका हुन्छन् । यसले व्यवसायीक पत्रकारलाई नियमित रिपोर्टिङमा समेत समस्या भैरहेको हुन्छ । युट्युवालाको दवदवा समाजमा बढ्दो छ । सबैतिर युट्युवकै चर्चा हुन्छ । युट्युवरले गरेको गल्तीको सजाय पत्रकारले भोग्नु परिरहेको छ । उनीहरुकै कारण पत्रकारिता बदनाम भैरहेको हुन्छ ।

राम्रो चलेका युट्युवरको क्रेज बढ्दो छ । व्यवसायीक पत्रकारलाई भन्दा धेरै मानिसले युट्युवरलाई चिन्छन् । उनीहरुका फ्यान धेरै छन् । कुनै ठाउँमा उनीहरु गए भने मानिसहरुको भिड लाग्छ तर त्यही ठाउँमा कुनै व्यवसायीक पत्रकार गए कसैलाई केही मतलव हुँदैन । अर्थात युट्युवको काम सस्तो लोकप्रियता भैरहेको छ । आफ्नै प्रशंशा गर्ने, आफ्नैबारेमा बताउने र प्रचारप्रसार गर्ने क्रम पनि बढ्दो छ । जस्तो युट्युव सञ्चालक आफैले आफ्नो नाममा शिर्षक बनाएर फलाना पुगे यहाँ, फलानाले यस बिषयमा यस्तो सामग्री बनाए भनेर सामग्री दिइरहेका हुन्छन् ।

युट्युवलाई नियमन गर्ने गरी प्रभावकारी कानून नबन्दासम्म युट्युवका नाममा पत्रकारिता बदनाम हुन छोड्दैन । अहिले धेरैले युट्युवको सामग्री हेरेर पत्रकारलाई गाली गरिरहेका छन् । यस्ता सामग्री पनि दिने हो भनेर प्रश्न गरिरहेका छन् । कसैलाई कसैमाथि रिस पोख्नुछ भने युट्युवर बोलाएर ठिक गर्ने प्रवृत्ती मौलाइरहेको छ । घरझगडा युट्युवमा छताछुल्ल भैरहेको छ । यसले समाजमा झगडा, ईश्र्या, द्वेष, द्वन्द्व र विवाद् बढाइरहेको छ । समाजलाई सकारात्मक सन्देश दिनेखालका सामग्रीभन्दा नकारात्मक सामग्री नै बढी बिकिरहेका छन् । दर्शक पनि त्यस्तै सामग्रीका बढी भैरहेका छन् ।

युट्युव र पत्रकारिता फरक काम हुन् भन्ने ज्ञान सबैलाई हुन जरुरी छ । पत्रकार महासंघ, मिडिया हावस र प्रेस काउन्सीलले पनि यस्ता बिषयमा बहस चलाउन आबश्यक छ । पत्रकारितामा भएका विकृतीबारे अनुगमन र नियमन गर्ने निकायका रुपमा प्रेस काउन्सिल छ तर युट्युव जस्ता सामाजिक सञ्जालको अनुगमन, नियमन गर्ने कुनै पनि निकाय छैन । सामाजिक सञ्जाल लगाम विनाका घोडा झै भएका छन् । मनपरी जथाभावी दौडिरहेका छन् । यिनले कताकता के के क्षती गर्छन् भन्न सकिदैन । व्यापारका नाममा जथाभावी सञ्चारको दुरुपयोग गर्नु राम्रो होइन ।

युट्युव आतंकले मूलधारको पत्रकारितालाई नै समस्यामा पारेको छ । कुनै मूलधारको मिडियाका पाठक, स्रोता, दर्शकभन्दा युट्युवका दर्शक बढि छन् । यसले गर्दा समाज कस्ता घटना र सूचनाको पछि दौडिरहेको छ भन्ने चित्रण गर्छ । समाज हल्लाकै पछि दौडिरहेको छ भन्ने यसबाट पुष्टि हुन्छ । अब हामी सही मिडिया छनोट गरेर सही सूचना लिने बानी बसालौं । हल्ला र भाइरल सूचनाका पछि नदौडौं । पत्रकारिता र युट्युवकारिताको अन्तर सबैले चिनौं ।