लिबाङ रोल्पा
सम्पर्क फोन:
+977-9847877672

दलकारिता कि पत्रकारिता ?

सम्झना पौडेल

अनलाइन पत्रकारिता सञ्चार माध्यमको बढ्दो विकास सँगसँगै आम पाठक सामु निकै लोकप्रिय बन्दै गएको छ। ब्लगबाट पनि समाचार सामाग्रीहरु प्रकाशन गर्ने प्रचलन बढेको छ। नेपालको सन्दर्भमा हेर्ने हो भने पछिल्लो समयमा विकसित सामाजिक सञ्जाल र अनलाइन मिडियाले सञ्चार क्षेत्रलाई धेरै माथि पुर्‍याएको देखिन्छ। यिनै नयाँ माध्यमहरुलाई ‘न्यू मिडिया’का रुपमा हेर्न थालिएको छ।

लोकतन्त्र प्राप्ति पछि सञ्चार क्षेत्र फष्टाउँदै गएको कुरा नकार्न मिल्दैन। लोकतन्त्रसँगै प्राप्त विचार र अभिव्यक्ति स्वतन्त्रता, प्रकाशन, प्रसारण र छापाखाना र सूचनाको हकको उल्लेख गरियो। पछिल्लो समय नेपालमा पत्रकारिताको स्थिति नियाल्दा समाचार सम्प्रेषण, राजनीतिक घटनाक्रमको व्याख्या र उनीहरुको विश्लेषण मात्र प्रमुख रहेको देखिन्छ। राजनीतिक अभिष्ट प्राप्तिका लागि पत्रकारिताका मुल्य मान्यताहरु हराउँदै गएका छन्। स्वतन्त्र पत्रकारिताको अभाव हुँदै गएको महसुस भएको छ। देश चलाउनेदेखि शेष जलाउनेसम्मको हालत यस्तै छ। भारतले नेपाललाई आफु अनुकुल उपयोग गर्ने नेपाल नीतिकाविरुद्ध आवाज उठाउँदा धेरैले यहि भन्छन्। आफु अनुकुल राजनीति अघि नबढ्दा पनि विदेशी हस्तक्षेप बढ्यो भन्नेहरु जो कोही राजनीतिक नेतृत्व पनि त्यही आरोपबाट अलग छैनन्।

नेपालको समग्र नीतिमै हस्तक्षेप गर्ने स्वतन्त्र नेपालको प्रेसमा पनि हावी भएको प्रशस्त उदाहरणहरु भेटिन्छन्। राजनीतिक नेतृत्वले विदेशी हस्तक्षेप जसरी नेपालमा निम्ताएका छन् त्यसरी नै पत्रकारहरुले मिडियामा राजनीतिक हस्तक्षेप निम्ताएका छन् भन्दा फरक नपर्ला। संगठित हुन पाउने पत्रकारको पनि अधिकार हो। तर राजनीतिक आस्थाका आधारमा दलगत पत्रकारहरुका संगठन खोलिएका छन्। कुनै पनि दलको भातृ संगठनले पार्टीको अहित हुनेगरी सार्वजनिक रुपमा केही बोल्न र लेख्न पाउँदैन भने यो कस्तो पत्रकारिता हो? दलिय पत्रकारहरुबाट निश्पक्ष समाचार सम्प्रेषण हुन्छ भन्नु बालुवाको घर बन्छ वा तातो पानीले डढेलो लाग्छ भन्नु जस्तै हो। तर सबै पत्रकारहरु दलको झुण्ड पक्कै पनि होइनन्। संगठित हुने बहानामा कुनै पत्रकारले कुनै दलको पार्टी कार्यालयमा गएर त्यो दलको बारेमा अहित नबोल्ने र नलेख्ने सपथ खान्छ भने यस्तो पत्रकारिता बाट देश र समाजले के पाउने? दलगत, दलभित्रको पनि गुटगत वा व्यक्तिको ढोँगीकारिता गर्ने पत्रकारहरुको भिडमा सुसुप्त देखिछन्। पार्टी कार्यालय कोही नेताका निवास दौडधुप गरेका निर्लज्ज तस्बिरहरु सामाजिक सञ्जाल र पत्रिकाहरुमा प्रशस्त देखिन्छ। खासमा पत्रकारिताको ज्ञान नभएको अवस्थामा उ पत्रकार हुन नपाउने हो तर यहाँ त पार्टीको झण्डा बोकेर हिँडेमात्र पनि पत्रकार भइहाल्ने परिपाटी छ। जसले स्वतन्त्र पत्रकार र देश र समाजको लासग केहि गर्न चाहने पत्रकारहरुलाई थिचोल्दै गएको छ। आशा गरौँ अबको नयाँ पुस्ताले दलको झण्डा बोकेर पत्रकारिता गर्ने छैनन्।

आम सञ्चार माध्यमको सङ्ख्यामा वृद्धि भए पनि गुणस्तरमा वृद्धि नभएको पक्कै हो। समग्रमा पत्रकारिता क्षेत्रको गुणस्तर कमजोरभन्दा पनि विषयवस्तु र प्रविधिअनुसार गुणस्तरीय हुन नसकेको देखिन्छ। मिडिया सञ्चालन गर्ने पुर्वाधार र आवश्यकताबिना नै सम्बन्धित निकायले अनुमति दिएका कारण पनि सङ्ख्यामा अस्वाभाविक वृद्धि भएको छ।